काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रविरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार काठमाण्डुमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेकाले त्यसको प्रतिवाद गर्नु आजको आवश्यकता रहेको बताए ।
उनले भने, ‘अहिले गणतन्त्रविरुद्ध प्रश्न उठाउने एकथरी मानिसले निरर्थक दुस्साहस गरेका छन् । त्यसको प्रतिवाद गर्ने प्रतिबद्धता पनि आजको आवश्यकता हो ।’
उनले गणतन्त्र सबै वर्गका मानिसहरूको योगदानको परिणाम भएको धारणा राखे । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि फेरि एकपटक आ–आफ्नो ठाउँबाट एकताबद्ध भएर सबैले पहल गर्न जरुरी रहेको उनले बताए ।
‘गणतन्त्र तमाम सांस्कृतिक कलाकार, पत्रकार सबैको योगदानको परिणाम हो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि यसमार्फत समाजवादतिरको यात्रा अगाडि बढाउन फेरि एकपटक आ–आफ्नो ठाउँबाट एकताबद्ध भएर पहल गर्न जरुरी छ,’ उनले भने ।
प्रतिक्रिया