काठमाण्डु – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’मा हल्का निमोनियाको संक्रमण देखिएको छ ।
काठमाण्डुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएका उनको पछिल्लो अस्पताल जानकारी गराउँदै अस्पतालले संक्रमण देखिएको जनाएको छ ।
अस्पतालले आईतबार जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार चिकित्सकहरूको टोलीले परीक्षण गर्दा उनमा ओसिलो/हल्का निमोनियाको संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएपछि आवश्यक सबै किसिमका परीक्षणहरू र उपचार प्रक्रिया तत्कालै सुरु गरिएको अस्पतालले जनाएको छ ।
मेडिसिटी अस्पतालका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था अहिले पूर्ण रूपमा स्थिर (स्टेबल) रहेको छ र उपचारको नतिजा सकारात्मक देखिएको छ ।
स्वास्थ्यमा थप जटिलता नआओस् र पूर्ण रूपमा स्वास्थ्य लाभ हुन सकोस् भन्ने उद्देश्यले पूर्वसतर्कताका रूपमा उनलाई अझै २–३ दिनसम्म अस्पतालमै राखेर निगरानी गरिने भएको छ । चिकित्सकहरूको निरन्तर रेखदेख र चिकित्सा हेरचाहका लागि उनी केही दिन अस्पतालमै रहने बुलेटिनमा उल्लेख छ ।
अस्पताल प्रशासनले प्रचण्डको स्वास्थ्यप्रति चासो राख्दै शुभकामना व्यक्त गर्ने आमसर्वसाधारण र शुभचिन्तकहरूलाई धन्यवाद दिएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरणहरू आवश्यक परेका खण्डमा पुन: सार्वजनिक गरिने अस्पतालले जनाएको छ ।





प्रतिक्रिया