कमी–कमजोरी हटाएर पार्टीलाई नयाँ उचाइमा लैजान्छौँ : संयोजक प्रचण्ड

कमी–कमजोरी हटाएर पार्टीलाई नयाँ उचाइमा लैजान्छौँ : संयोजक प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमी–कमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अठोट व्यक्त गरे ।

‘हामीले यो पटक असाधारण परिघटनाको सामना गर्नुपरेको छ तर हामी ध्वस्त भइसकेका छैनौँ । सबैभन्दा पहिला आफ्नो कमजोरी सुधार्ने विषयलाई उच्च प्राथमिकताका साथ लिनुपर्छ,’ संयोजक दाहालले भने, ‘विगतमा जस्तै राष्ट्रिय स्वाधिनता र वर्गीय हितका निम्ति जस्तोसुकै त्याग गर्ने संकल्प गरेमा हामी यहीबाट सुधारिनेछौँ र पार्टीलाई नयाँ उचाइमा लैजान सम्भव हुनेछ ।’

आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभइ वैचारिक र संगठनको हिसाबले क्रमभङ्ग गर्ने गरी अघि बढ्ने उनले बताए । ‘पार्टीको नेतृत्व र विचार निर्माण गर्दा पनि नयाँ रणनीति र कार्यनीति सहित विचारको विकास गर्नेछौँ । हामी अब अर्को क्रान्तिको सुरुआत गरेर मात्र विश्राम लिने छौँ,’ संयोजक दाहालले भने ।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले अहिलेकै अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताए । राष्ट्रियतामाथि संकट आउने अवस्था देखिएकाले वामपन्थी दलहरूबिच सहकार्य हुने उनले बताए ।

‘पहिला आफ्नो पार्टी बलियो बनाउन लाग्नुहोस्, पार्टी ठूलो र बलियो भयो भने मात्र एकताको आशा जाग्छ । तत्कालै कम्युनिष्ट पार्टीबिच एकता हुँदैन,’ सहसंयोजक नेपालले भने । ठूलो पार्टी कमिटी नबनाउन आग्रह गर्दै उनले गाउँगाउँका जनताको बिचमा पार्टीलाई स्थापित बनाउने गरी खटिन निर्देशन दिए ।

कार्यक्रममा पार्टीका नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, सहइञ्चार्ज श्रीनाथ बराल, केन्द्रीय सदस्य ज्ञानु आचार्य, शिव बास्तोला, पार्टी प्रदेश संयोजक कृष्ण नेपाली, सहसंयोेजक गायत्री गुरुङलगायतले तल्लो तहसम्मको पार्टी एकतालाई छिटो पूर्णता दिएर जनताको बिचमा जाँदा पार्टीप्रतिको जनआकर्षण वृद्धि गर्न सकिने बताए । कार्यक्रममा गण्डकीका ११ वटै जिल्लाका संयोजकहरूले चुनावी समीक्षा तथा एकता प्रक्रियाका बारेमा रिर्पोटिङ गरेका थिए ।