दुर्गमका गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन् ।

भूकम्प पीडितको राहत र उद्धारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदको एक प्रतिनिधि मण्डलसँगको भेटमा उनले गरीबलाई प्राथमिकतामा राख्ने बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई ऊर्जा मिलेको छ ।’

प्रधानमन्त्री प्रचण्डले आफूले रास्वपाले उठाएका सुझावहरू प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताए ।

उनले भने, ‘अहिले तपाईंहरूले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैंमा पनि सरकारलाई एउटा नयाँ ऊर्जा मिलेको महसूस भएको छ ।’

उनले पीडितसमक्ष सही समय र ठीक ढंगले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरू सचेत रहेको बताए ।

उनले भने, ‘विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरूको राहत र उद्धारमा लाग्ने छौं ।’ त्यसका लागि कानूनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले पीडितहरूको राहत र पुनःस्थापनालाई मोडेलको रूपमा अगाडि बढाउनेमा आफूहरू रहेको पनि बताए । उनले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपद्का लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको उल्लेख गरे ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य तथा उपसभापति डोरप्रसाद अर्यालले सडक पहुँच नभएकालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । अर्यालले ६ बुँदे सुझावहरू पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे/नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनःस्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement