बुद्धका शिक्षाको महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड


नवलपरासी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् ।

नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानव जाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ ।’

उनले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रूपले शान्तिका निम्ति अपिल पनि गरे । रामग्रामको विकासका निम्ति भएका कार्यक्रममार्फत हुने प्रतिबद्धताले महत्त्व झन् बढेर गएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव आएको प्रसंग स्मरण गर्दै अगाडि भने, ‘मैले राष्ट्रसंघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो ।’

उनले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी–पहिरो लगायतका प्राकृतिक प्रकोपबारे विश्वको ध्यान खिच्न आफू सफल भएको बताए । उनले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement