नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन पहल भइरहेको बताएका छन् ।

बुधबार काठमाण्डु विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न बाध्यताले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरूलाई सकुशल नेपाल फर्काउने हरसम्भव प्रयास भइरहेको बताए ।

‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ,’ उनले भने ।

नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणबाट नेपाली युवाले विदेशमा अनेक हन्डर खाइरहेका उनले बताए । अहिले नेपालमा पनि प्रशस्त शिक्षा र रोजगारीको अवसरहरू रहेको उनले बताए । नेपालमा भएका स्रोतसाधनको प्रयोग गरेर व्यक्तिगत जीवनलाई मात्रै नभएर देशको हितमा पनि काम गर्न सकिने उनले बताए ।

उनले भने, ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement