अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु : प्रधानमन्त्री प्रचण्ड


सुर्खेत – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड्नु भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई भनेको बताएका छन् ।

बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कांग्रेस र एमालेलाई मात्रै हान्छ, आफ्ना नेतालाई छोड्छ भन्ने थियो, त्यो होइन । सीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु ।’

सबैको साथ, सहयोग र नेपाली जनताको समर्थनमा भ्रष्टाचारविरुद्ध नयाँ अभियान थालिएको उनले बताए । ‘यसले दायाँबायाँ, तेरोमेरो हेर्ने छैन । नेपाली जनताको हितमा समर्पित भएर लाग्नेछ,’ उनले भने ।

उनले सत्ता टिकाउनका लागि सम्झौता नगरिरहेको बताए । उनले भने, ‘मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन्, त्यो वाहियात हो । राम्रो काम गर्छु, जनताले हेरिरहेका छन् । राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम नरोकिने र पक्षपात नहुने बताए । ‘भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा अभियान चालिएको छ । यो रोकिनेवाला छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement