प्रधानमन्त्री प्रचण्डले भने – खेल–पर्यटनको विकास गर्न सरकारले कुनै कसर छाड्ने छैन


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकार १ वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुविधासम्पन्न खेल मैदान विना नै नेपाली क्रिकेट खेलाडीहरुले विश्वकपको यात्रा तय गरे । विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन । यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ । त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौं ।’

कीर्तिपुर रंगशालालाई पीपीपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा ३ तहकै सरकारको समन्वयमा बन्न थालेको जानकारी दिए ।

‘सरकारले देशको गौरव बढाउने युवा क्रिकेट खेलाडी, प्रशिक्षक र व्यवस्थापन टीमलाई सम्मानसहित पुरस्कृत पनि गरेको छ,’ उनले भने, ‘दक्षिण एशियाली र एशियाली खेलकूद प्रतियोगितामा पदक प्राप्त गर्ने २५२ खेलाडीलाई मासिक भत्ता पनि उपलब्ध गराएको छ । यी प्रोत्साहनसँगै सरकारको ध्यान पूर्वाधार–निर्माणमै केन्द्रित छ । ग्रासरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल–पर्यटनको ठूलो सम्भावना हासिल गर्न सरकारले कुनै कसर छाड्ने छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement