उपचुनावबारे प्रचण्ड, ओली र नेपालबीच छलफल, बझाङ नछाड्ने नेपालको अडान


काठमाण्डु – बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आसन्न उपचुनावबारे छलफल भएको छ ।

वैशाख १५ गते हुने इलाम र बझाङको उपचुनावका विषयमा सोमबार बिहान तीनै नेताहरूबीच छलफल भएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला अधिवेशनमा उनले उपचुनावबारे छलफल भएको जानकारी दिए । उनले भने, ‘आज बिहान ३ दलका नेताहरूको बैठक बसेको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र हाम्रो दलको तर्फबाट म थियौं । त्यहाँ हामीले ३ वटा पार्टीको सम्बन्धका बारेमा छलफल गर्‍यौं । ३ वटा अलग–अलग पार्टी हुन्, अलग–अलग ढंगले अगाडि बढ्छन् भन्ने कुरा आयो । त्यसै सिलसिलामा इलाम र बझाङको कुरा आयो । हामी छुट्टै पार्टी हुनाले हामीले उम्मेदवार खडा गर्‍यौं भनेर एमालको तर्फबाट भनियो । स्वाभाविक रूपमा हामी पनि छुट्टै पार्टी हुनाले कहाँ–कहाँ उम्मेदवार खडा गर्ने हो, कस–कसले हामीलाई साथ दिने हो त्यसको आधारमा हामी अगाडि बढ्ने छौं ।’

अध्यक्ष नेपालले बझाङको प्रदेशसभा सदस्यको उपचुनावमा एकीकृत समाजवादीले कुनै पनि हालतमा नछाड्ने बताए । उनले भने, ‘यसबारे छिट्टै टुंगो पनि लाग्नेछ तर हामी मानसिक रूपमा दुवै ठाउँमा उम्मेदवारी दिनुपर्ने हुनसक्छ भनेर त्यो मानसिकताका साथ अघि बढिरहेका छौं । हामी बझाङमा त दिन्छौं नै, त्यो हामीलाई कसैले रोक्न सक्ने कुरा भएन ।’

एमालेले इलाम २ को प्रतिनिधिसभा सदस्यको उपचुनावका लागि स्व. सुवासचन्द्र नेम्वाङका छोरा पार्टी कानून विभाग सदस्य सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

बझाङ १ को प्रदेशसभा चुनावका लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement