पहिलोपटक प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक


काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय बैठक बोलाएका छन् । अध्यक्ष प्रचण्डले बुधबारका लागि पहिलोपटक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो ।

‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले भने, ‘नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ ।’

दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली–प्रचण्डबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने गरी मंसिर ४ मा ओली–प्रचण्डको कार्य विभाजन भएको थियो ।

प्रचण्डले अहिले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेतासँग छलफल गरेर बैठक बोलाएका हुन् । उनले मंगलबार बिहान वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ र दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग संवाद गरेका थिए । बैठक पार्टी कार्यालय धुम्बाराहीमै बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement