प्रचण्डले बाबुराम र उपेन्द्रलाई नेकपामा बोलाए


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टीको नेतृत्वलाई नेकपामा आउन आग्रह गरेका छन् ।

समाजवादीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई नेकपामा आउन आग्रह गरेका हुन् ।

उनले पार्टी प्रवेश गरेका समाजवादीका नेता रामप्रसाद रिजालको भनाइ उदृत गर्दै भने, ‘रामप्रसादजीले त्यहाँ अशोक राई र बावुराम भट्टराई बडो निरिह भएर बस्नु परेको छ । अप्ठ्यारो अवस्थामा हुनुहुन्छ भन्नुभयो ।’

प्रचण्डले रामप्रसादको सो कुरा सत्य होला भन्ने लागेको बताए ।

उनले भने, ‘उपेन्द्रजी पनि त्यहाँ झमेला गर्नु भन्दा यहाँ (नेकपामा) मिल्न आए हुन्थ्यो ।’

उनले एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अलग अलग चुल्हा चौका लगाएर हुँदैन । देशको समृद्धिका लागि सबै मिलेर जाऔँ ।’

प्रचण्डले सभामुख चयनको विषयलाई लिएर माइतीघर मण्डलामा भइरहेको प्रदर्शनको औचित्य नरहेको बताएका छन् ।

सभामुखमा निर्विरोध भएका नेकपाका उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने मागसहित माइतीघर मण्डलामा बुधबार प्रदर्शन भएको थियो । कांग्रेसले समेत सभामुखमा सापकोटालाई समर्थन गरिसकेको स्थितिमा माइतीघर मण्डलामा भइरहेको प्रदर्शनप्रति प्रचण्डले व्यङ्ग्यसमेत गरेका छन् ।

‘सभामुखको बारेमा सिङ्गो राष्ट्र एक ठाउँमा उभिइसक्यो साथीहरुले किन दुःख गरेका हुन् यो जाडोमा,’ उनले भने ‘उहाँमाथि आरोपमात्र लागेको हो, आरोप लागेजस्तो कुरा केहीपनि छैन् ।’

प्रचण्डले पार्टीबाट सर्वसम्मत निर्णय गरेर सभामुखमा सापकोटालाई अघि सारेको र अरु पार्टीहरुले पनि समर्थन गरेको बताए । ‘सभामुखको बारेमा राष्ट्र नै एक ठाउँमा भएको बेला हो यो । त्यसैले माइतीघर मण्डलमा साथीहरुले दुःख नगरे हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement