कृषिमा आधारित उद्योग खोल्ने प्रचण्डकाे चाहना (भिडियाेसहित)


चितवन–  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चाहाना कृषिमा आधारित उद्योग खोल्ने रहेको बताएका छन्।  प्रचण्डले भने, ‘मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो।’

प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने धारणा राखे।

चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको उहाँको भनाई थियो । प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने छ।’

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताए।

अध्यक्षले खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्ने धारणा राखे।

विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको देश इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने विचार बताउँदै उनले नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको पनि जानकारी दिए।

त्यसैगरी प्रचण्डले छिमेकी मुलुक चीनबाट आएका व्यावसायीहरुको टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताए।  जिल्लामा स्टिल, फलाम, कपडा, चप्पलजस्ता २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement