विप्लवका इन्चार्जसहितका नेतालार्इ माअाेवादीमा भित्र्याउँदै प्रचण्डले भने– ‘क्रान्तिको नक्कल गरेर हुन्न’


काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको नक्कल गरेर नहुने बरु विकास गर्नुपर्ने बताएका छन्।

सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समूहका नेता तथा कार्यकर्ताहरुलाई शनिबार खुमलटारमा स्वागत गर्दै प्रचण्डले भने, ‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०/२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’

 पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सही निर्णय गरेको बताउँदै प्रचण्डले माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो।   ‘जसले बाली लगायो, उसैले थन्काउन पाउने नै वैज्ञानिक कुरा हो,’ उनले भने।

दुईचार दिन समय लिएपनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने प्रचण्डको भनाई थियो।

शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने बिषयमा छलफल भएको उनले स्मरण गरे। त्यसलाई माओवादी नेतृत्व र बिचारले नै पहल गर्नुपर्ने सल्लाह भएको प्रचण्डको भनाई थियो।

‘त्यतिखेर केही साथीहरुले यो उपलब्धीलाई पचाउन सकेनन् र उनीहरुलाई बचाउन पनि सकिएन,’ उनले भने, ‘पहिलो संविधान सभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भईएन । हाम्रा विरोधीहरु माओवादी आन्दोलनलाई टुक्रा टुक्रा बनाउन सफल भए। ’

माओवादीलाई फुटाएर परिवर्तनका मुद्धाहरुलाई लावारिस बनाउने खतरा पैदा भएको उनले स्मरण गरे। प्रचण्ड  सबै छरिएर रहेका माओवादीहरु ढिलोचाँडो मूल पार्टीमा फर्कने  विश्वास व्यक्त गर्छन्।

उक्त कार्यक्रममा विप्लव समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

उनीहरुले विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समातेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement