माघ १६ गतेबाट आम हड्तालमा जाने प्रचण्डको चेतावनी


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम हड्तालमा जाने चेतावनी दिएका छन् ।

सोमबार आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकोविरुद्धमा माघ १६ गतेबाट आम हड्तालमा जाने चेतावनी दिएका हुन् ।

‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको होइन, त्यो अधिकार पनि उहाँलाई छैन । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको हो । त्यसकारण आन्दोलनको विकल्प छैन । ढिलो गर्न पनि हुँदैन । जनताको अदालत सवैभन्दा माथि हुन्छ’ उनले भने ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्किँदै गरेको बच्चाको संज्ञा दिँदै त्यसलाई बचाउन जनअदालतको फैसला सुनाउन आवश्यक रहेको पनि बताए ।

उनले प्रधानमन्त्री ओलीको सोच पहिलेदेखि नै प्रतिगमनकारी रहेको उल्लेख गर्दै अहिले आएर त्यो पुष्टि पनि भएको बताए । उनले ओलीले पार्टी एकता बेला सवैले हस्ताक्षर गरेको विचार र विधि विधानभन्दा बाहिर गएर नेकपा फुटाएको बताएका छन् ।

‘ओलीले पार्टी एकताका बेलाको विचार छोडेकाले उहाँ फुटबादी हो । केन्द्रीय समितिबाट पारित राजनीतिक प्रतिवेदन नै पार्टी एकताको आधार थियो । तर उहाँले त्यो छोड्नुभयो । अव तपाईंहरु नै छुट्याउनुस् को हो फुटवादी ?’, प्रचण्डले भने ।

उनले ओलीले एकताका बेलाको विचार स्वीकार गरेको भएमात्रै पनि समस्या नआउने अवस्था रहेको सो क्रममा बताए ।

प्रचण्डले ओलीसँग सहकार्य गर्ने क्रममा आफूबाट पनि केही कमजोरी भएको स्वीकार्दै त्यसप्रति अहिले गल्ती महसुस भएको बताए । ‘उहाँको भुलभुलैया, जिद्दिलाई मान्नु मेरो पनि केही गल्ति हो’, प्रचण्डले भने । उनले भ्रममा परेर केपी पक्षमा गएकाहरुपनि अन्ततः आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै सूर्य चिन्ह र नेकपाको आधिकारिकता आफूहरुले नै पाउने ठोकुवा गरे ।

उनले पार्टी एकताका समयमा जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति केपी ओली भएको दाबी गरेका छन् । उनले केपी ओली सहीदहरुलाई श्रद्धाञ्जली दिन कुनै पनि एउटै कार्यक्रममा नगएको समेत स्मरण गरेका छन् ।

‘उहाँ फेरी फाउण्डेसनको नाममा जबजमै फर्किनु थियो भने हिजो जबज परित्याग गर्ने एमालेको पहिलो नेता केपी ओली नै हुन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement