पार्टी एकतातिर गइसक्यो, पछाडि फर्के खाल्डोमा फसिन्छ : प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम एकतालाई भत्काउन खोज्नेहरुले हत्याकाण्ड जस्तो षडयन्त्र समेतगर्न सक्ने खतरा औंल्याएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले एकतालाई अनिष्ट भयो भनेर तर्सेका दक्षिणपन्थी शक्तिहरुले वामपन्थीभित्रकै समूहहरुलाई उपयोग गरेर एकतालाई भत्काउन जुनसुकै सीमासम्म जान सक्ने सम्भावना आशंका व्यक्त गरेका हुन्।

पार्टी एकता गर्ने पहल शुरु भएपछि बिभिन्न कोणबाट विचार विमर्श भएको बताउनुहुँदै अध्यक्षले एकथरिले बिरोध र अर्कोथरिले समर्थन गरेको चर्चा गरे। ‘राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनताको जीवनमा असर पर्ने किसिमले पनि बहस शुरु भएको छ । एकथरिले अनिष्ट शुरु भयो भनेका छन् । अधिनायकवादतिर जान्छ, निरंकुशतिर गयो भनेर एकथरिले भनेका छन्,’उनले भने, ‘अर्कोथरिले बिल्कुल ठीक भयो, पहिल्यै हुनुपथ्र्यो, तर अब ठीक छ भनेर अनुमोदन गरेका छन्।

अध्यक्ष प्रचण्डले नेपालको इतिहासलाई नयाँ ढङ्गले अघि बढाउन खोजिएको भन्दै इतिहासको निर्माता जनता भएको बताए।

अहिले निर्वाचनमार्फत जनताले स्थायीत्व, समृद्धि र सुशासनका लागि वाम एकतालाई अनुमोदन गरेको हुँदा त्यसबाट पछाडि हट्नै नसकिने जिकिर गरे। ‘पपुलर भोटको कुरा गर्दा ५१ प्रतिशत र प्रतिनिधिमूलक भोट ६७ प्रतिशत छ । त्यसैल यसलाई भत्काउन खोज्नेहरु जुनसुकै सीमामा जान सक्छन् । यसलाई भत्काउन ठूलाठूला षडयन्त्र हुने छन् । यसलाई भत्काउन या सुदृढ गर्ने दुईवटा विकल्प हाम्रा अगाडि छन्,’ उनले भने।

अध्यक्षले प्रचण्डले जनताले निर्वाचनमार्फत एकताको पक्षमा आदेश दिएको दोहोर्याए।  हामी पार्टी एकतातिर अघि गइ सकेको उल्लेख गर्दै प्रचण्डले पछाडि फर्के खाल्डोमा फस्नुबाहेक विकल्प नरहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement