माओवादी घटकलाई डराउने प्रचण्डविरुद्धको रिटमा के माग गरिएको छ ?


काठमाण्डु- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी वृत्तमा तरंग छाएको छ ।

यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दरपीठ गर्ने निर्णयलाई गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले आफ्नै प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

सोही आदेशअनुसार मंगलबार रिट दर्ता भएको हो । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ । २०७६ माघ १ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा मानिएका पाँच हजारको जिम्मेवारी लिने बताएका थिए।

५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रचण्डमाथि ज्ञानेन्द्रराज आरण लगायतले रटि दायर गरेका हुन् । यता प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता भएपछि माओवादी नेताहरु भने तनावमा छन् । माओवादी नेताहरुले उक्त मुद्धालाई षड्यन्त्रपूर्वक ल्याइएको दाबी गरेको छ।

माओवादी नेताहरु मात्र होइनन्, आफूमाथि सर्वोच्चमा रिट परेपछि प्रचण्ड स्वयम डराएका छन् । उनले आफूविरुद्ध सर्वोच्चमा मुद्धा परेपछि पूर्वमाओवादी नेताहरुको साथ खोजिरेका छन् । यसैबीच जनयुद्धमा प्रचण्डलाई साथ दिएका पूर्वमाओवादी घटकहरु पनि उनको बचाउमा उभिएका छन् ।

माओवादी त्यागेर बेग्लै पार्टी खोलेका जनयुद्धका सहयात्री एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सर्वोच्चबाट आएको आदेश आफूहरूलाई सिध्याउने प्रयोजनको रहेकाले प्रचण्डमाथि मुद्दा दर्ता गरिए पुनः २०५२ दोहोरिन सक्ने चेतावनीसमेत दिएका छन् ।

यसैबीच माओवादी घटक दलले शान्ति सम्झौता र परिवर्तनकाविरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेका छन् । मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको माओवादी घटक दलहरुले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रचण्डमाथि रटि दायर गरेका ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।

सशस्त्र द्वन्द्वकालमा बर्बरतापूर्ण हत्त्या गरिएकाहरुका पक्षमा परमादेश जारी गर्न माग गर्दै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न आन्तरिम आदेश समेत मागिएको छ ।

“प्रचण्डको हामी निवेदकहरु समेतको परिवारको सदस्य मारेको स्वीकारोक्तियुक्त आपत्तिजनक अभिव्यक्ति (भाषणको ट्रान्सकृष्ट) सूचना सञ्जाल युटयुटव तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा हालसम्म प्रसारित–प्रकाशित भैरहेका हुनाले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउनु– नबढाएमा पीडितलाई अपुरणीय क्षति पुग्न जाने विधिको शासन माथि प्रश्न चिन्ह उठ्ने सुविधा र सन्तुलनको मान्यता विपरित पनि हुने भएकोले) भनी विपक्षीहरुका नाममा सर्वाेच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाऊँ,” रिटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement