कांग्रेसले गृहमन्त्रालय पाउनु पर्ने अडान राखेपछि भागबण्डा मिलाउन प्रचण्डलाई सकस


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस पेरको छ । पुस १० गते एमालेलगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड प्रधानमन्त्री बन्दाको गठबन्धन भत्किएसँगै नयाँ सरकार विस्तारको दवावमा परेका हुन ।

तर, प्रचण्डले भागबण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । पुस १० गतेको सहमतिबाट पछि हट्दै राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गरेपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो ।

राष्ट्रपति निर्वाचनमा पुरानो नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँतियसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारबाट बाहिरिएको थियो । नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिए पनि प्रचण्डले हालसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सरकारमा सहभागि दलहरुबीच भागबण्डामा कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले आठ मन्त्रालय लिएको थियो । त्यसैले अब कांग्रेसले पनि आफूले आठ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले गृहसहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयमा पाउनुपर्ने अडान राखेको छ । यता, नेकपा माओवादी केन्द्रका नेताहरुले गृहमन्त्रालय आफूहरुले पाउनुपर्ने दबाब प्रचण्डलाई दिइरहेका छन् ।

यसभन्दा अघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलाको सहमति अनुसार गृहमन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको थियो । त्यसबेला पनि माओवादी नेताहरुले गृहमन्त्रालय अन्य दललाई नदिन प्रचण्डलाई दबाब दिएका थिए । हाल पनि माओवादी नेताहरुले गृहमन्त्रालय कांग्रेसलाई नदिन प्रचण्डलाई दबाब दिइरहेका छन् ।

त्यसकारण प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेका छैनन् । हाल १६ मन्त्रालयको जिम्मेवारी प्रचण्ड स्वयम आफैले सम्हालिरहेका छन् ।

अब प्रधानमन्त्री प्रचण्डले विस्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बुझिएको छ । चैत १३ सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार चैत ५ लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement