यस्तो छ सत्ता गठबन्धनभित्र भागबण्डाको खाका, कांग्रेस र रास्वपाबाहेक सबै दल असन्तुष्ट


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकबाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । प्रचण्डले दुइ चार दिनभित्रै सरकारलाई पुर्णता दिने दाबी गरेका छन् ।

‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो जो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २-४ दिन भित्रमै सबै टुंग्याउने र काम गर्ने विचार छ ।’, सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनेका थिए ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको बुझिएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव सत्ता गठबन्धनका शीर्ष नेतामाझ राखिसकेका छन् ।

जसअनुसार प्रचण्डले कांग्रेसले ७/८, माओवादीले ४/५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३/४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २-२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १-१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक अघि सारेका छन् । प्रचण्डको प्रस्तावमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका साना दलले चित्त बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement