भागबण्डामा सहमति जुटाउन प्रचण्डलाई किन सकस परिरहेको छ ?

भागबण्डामा सहमति जुटाउन प्रचण्डलाई किन सकस परिरहेको छ ?


काठमाण्डु- सत्ता गठबन्धनभित्र भागबण्डामा सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनमा आवद्ध दलहरु सबैले ठुला मन्त्रालयमा दाबी गरेपछि भागबण्डामा सहमति जुट्न नसकेको हो ।

मंगलबार प्रतिनिधिसभा बैठकबाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । बुधबार मात्रै ठोस छलफल गरेर सरकारलाई पूर्णता दिने उदेश्यले प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाए ।

तर, सहमति जुट्न नसकेपछि उक्त बैठक निश्कर्षबिहीन सकिएको थियो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारै कुनै टुंगो नलागेको बताए ।

विश्वासको मत पाएपछि एकदुई दिनभित्रै सरकारलाई पूणर्ता दिने बताएका प्रचण्डले हालसम्म भागबण्डा मिलाउन सकेका छैनन् । हिजो भागबण्डा मिलाउन औपचारिक रुपमा बैठक बसे पनि विश्वासको मत लिनु अघि नै सत्ता गठबन्धनमा यसबारे आन्तरिक छलफल गरेका थिए ।

जसअनुसार प्रचण्डले कांग्रेसले ७-८, माओवादीले ४-५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३-४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २-२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १-१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक प्रस्ताव अघि सारेका छन् ।

सबै दलका आँखा धेरै बजेट भएका र शक्तिशाली मन्त्रालयमा पर्दा १० दललाई भागबण्डामा सन्तुष्ट बनाएर लैजान भने प्रधानमन्त्री प्रचण्डलाई निकै सकस हुने देखिएको छ ।   सत्ता गठबन्धनमा आवद्ध साना दलले चित्त नबुझाउदा प्रचण्डलाई भागबण्डामा सहमति जुटाउन सकस परेको हाे । प्रचण्डको प्रस्तावमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका साना दलले चित्त बुझाएका छैनन् ।