लाखौं जनतालाई सडकमा आन्दोलित गरेर मोर्चाले नेतृत्व गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


बुटवल – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध लड्न लाखौं जनतालाई सडकमा आन्दोलित गर्नुपर्ने बताएका छन् ।

मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रूपान्तरित गर्न चाहेको बताए ।

देशमा २ पक्षबीचको लडाइँ रहेको बताउँदै प्रचण्डले मोर्चाले विशाल शक्ति सञ्चय गर्नुपर्ने बताए । त्यसका लागि मित्रहरूका साथै मोर्चामा इमान्दारीपूर्वक लाग्नुपर्ने उनले बताए । ‘अहिले मोर्चा घोषणाले मात्र पुग्दैन, बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने नेताहरू लाखौं जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरूलाई परास्त गर्न सकिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले जनतालाई समाजवादको प्रशिक्षण दिएर आन्दोलित गराउनुपर्ने बताए ।

उनले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताए । उनले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रूप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपिल गर्न चाहन्छु ।’

उनले जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा आफू लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement