पाँचै वर्ष प्रधानमन्त्री बन्न रास्वपा र राप्रपालाई सरकारमा ल्याउने प्रचण्डको तयारी


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारलाई बलियो बनाउनेगरि गृहकार्य थालेका छन् । सरकारलाई बलियो बनाएर पाँच वर्ष आफू नै प्रधानमन्त्री बन्नेगरि गृहकार्य थालेका हुन् ।

‘मलाई जसले हटाउनेछन्, तिनका विरुद्ध लाखौं-करोडौं जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गर्दैछु । अहिले ८ महिना हुँदैछ, म त हट्न परेको छैन, मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैन जस्तो देख्दैछु अहिले ।’, शनिबार काठमाण्डुको चन्द्रागिरी नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले भनेका थिए ।

वर्तमान सत्तारुढ गठबन्धनमा शक्ति बाँडफाँट हुँदा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो । जसअनुसार प्रचण्ड २ वर्ष प्रधानमन्त्री हुने, त्यसपछि २ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र १ वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने सहमति भएको थियो ।

हाल प्रचण्ड पाँच वर्ष आफू नै प्रधानमन्त्री बन्न चाहान्छन् । त्यसका लागि उनी सरकारमा सहभागी भएर बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपालाई सरकारमा ल्याउन चाहान्छन् । रास्वपा र राप्रपालाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री प्रचण्ड आफू बलियो बन्ने दाउमा लागेका हुन्।

सत्ता घटक नेकपा (एकीकृत समाजवादी) र जसपा पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड चिढिएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्डको कार्यशैली प्रति असन्तुष्ट रहेको अभिव्यक्ति दिन थालेका छन् । त्यसलै प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराएर माधव नेपाल र उपेन्द्र यादवसँगै कांग्रेस लाई तर्साउने रणनीति बनाएका हुन् ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकार संकटमा परेको बेलामा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाको साथ खोजे । यसैबीच सत्ता गठबन्धनले भदौ ११ गते भएको संसदीय समितिको निर्वाचनमा राप्रपालाई एउटा समितिको सभापतिको नेतृत्व दिएको थियो ।

त्यसपछि राप्रपाले कोशीमा कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । प्रदेश सरकारलाई सहयोग गर्न राजि भएको राप्रपालाई प्रधानमन्त्री प्रचण्ड केन्द्रमा पनि फकाउने प्रयास गरिरहेका छन् । यदि रास्वपा र राप्रपा सरकारमा सहभागि भएको खण्डमा प्रचण्ड नेतृत्वको सरकार संसदीय अंकगणितमा थप मजबुद हुनेछ । सरकारमा सहभागि हुनेबारे राप्रपा र रास्वपाले भने कुनै ठोस जानकारी दिएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement