काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् ।
२०५१ सालमा सहिद भएका तत्कालिन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा जनताका मुद्दा रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए ।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा राम्रो काम गरेपछि आत्तिएर नयाँ गठबन्धन बनेको दाबी गरे । ‘हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएका छन्’ उनले भने, ‘यो अपवित्र छ, यसको उद्देश्य गलत छ । पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।’
‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ । यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।’
अध्यक्ष प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताए ।
जनयुद्धको आधार तयार पार्न मधेसमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको उनले स्मरण गरे ।
‘रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्वपूर्ण भूमिका खेल्नुभयो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए ।
‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ,’ उनले भने ।
प्रतिक्रिया