काठमाण्डु-माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सम्पन्न भएको छ ।
बैठकमा ४० जनाले सुझाव राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि बैठक सम्पन्न भएको हो ।
आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरूप आयोजना गरिएको बैठकमा यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ ।
अब कोसी र मधेस प्रदेश तथा ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर सङ्गठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।
बैठकमा अध्यक्ष प्रचण्डले सरकारले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न तयार रहनुपर्नेमा जोड दिए ।
उनले भने, ‘यो सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छ । हामीले बेलैमा खबरदारी गर्नुपर्छ । संविधान संशोधनमार्फत जनताको अधिकारलाई खोस्ने प्रयास हुँदैछ ।’
उनले प्रतिपक्षमा रहेका दलहरूलाई पनि साथ लिएर सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने बताए । उनले पार्टीभित्र अब कुनै विवाद नरहेको भन्दै एकताबद्ध भएर संगठन निर्माणका लागि जनतामा जानुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया