काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशमा चौतर्फी संकट परेको र सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन् ।
अहिलेको संकटमा पनि सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।
बुधवार बिहान सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने बताए ।
उनले अहिले सरकारलाई गाली गर्ने नभइ मिलेर राहत, उद्धार र पूनर्निर्माणमा खटिनुपर्ने बेला आएको बताए । आफू पनि सरकारलाई गाली गर्ने पक्षमा नरहेको उल्लेख गर्दै प्रचण्डले अवस्था भने जटिल रहेको बताए ।
देशमा भूराजनीतिक रूपमा मात्रै समस्या आएको नभई भौगोलिक बनावटले पनि संकट निम्त्याइरहेको उनको भनाई छ ।
संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताउँदै उनले विगतमा आफ्नै सक्रियतामा भएको संविधान संशोधनले मधेशी दल र जनतालाई चुनावमा सामेल गर्न सम्भव भएको उल्लेख ग।े ।
नेपाल नयाँ शीतयुद्धको केन्द्रविन्दु बन्ने खतरा रहेको औँल्याउँदै उनले अमेरिका र चीनबिचको प्रतिस्पर्धामा नेपाल यस्तो केन्द्र बन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको दाबी गरे ।
‘दक्षिण एसियामा नै विगत केही समयदेखि ठुलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखा परेको छ’, उनले भने ।
नेपालमा चाहिँ सरकार परिवर्तन हुने विषय आन्तरिक रहेको उनको भनाइ छ । ‘नेपालमा सत्ता समीकरण बन्ने र भत्किने कुरा अन्तर्राष्ट्रिय कारणले भयो भनेर भन्नु गलत हुन्छ । यो हाम्रो आन्तरिक राजनीतिक कारणले भएको छ । तर, दिनप्रतिदिन अन्तर्राष्ट्रिय दबाब र चलखेल बढ्दै जाने आङ्कलन गर्न सकिन्छ’, अध्यक्ष प्रचण्डले भने ।
विश्वमा आर्थिक शक्तिका लागि प्रतिस्पर्धा या विश्वशक्तिकै निम्ति प्रतिस्पर्धामा चीन र अमेरिका सबभन्दा अगाडि रहेको उल्लेख गर्दै उनले भने, ‘रुस पनि सुपर पावरको हैसियतले उसले आफ्नो सुपरपावरको हैसियत गुम्न नदिनको लागि अन्तिम प्रयास गर्ने कुरा पनि स्वाभाविक छ । र, खासगरी चीनसँगको प्रतिस्पर्धाको कारणले कतै नेपाल अहिलेको नयाँ शीतयुद्धको केन्द्रविन्दु बन्ने हो कि भन्ने खतरा छ ।’
प्रचण्डले विश्वको भूराजनीति निकै चुनौतीपूर्ण रहेको पनि बताए । ‘कतिपयले तेस्रो विश्वयुद्ध नै भनेका छन्,’ प्रचण्डले भने, ‘कसैले तेस्रो विश्वयुद्धको संघारमा भनेका छन् । अन्तर्राष्ट्रिय चलखेल धेरै छ ।’
प्रतिक्रिया