सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन : प्रचण्ड

सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन : प्रचण्ड


काठमाण्डु –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल (प्रचण्ड)ले आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव रहेको बताएका छन् ।

प्रचण्डले शनिबार सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले उनीहरुलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।

जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्ने बताएका छन् ।

उनले लेखेका छन् ”संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु। लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ। बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ। सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।”