विश्लेषणका आधारमा यो सरकार टिक्दैन भनेको हुँ : प्रचण्ड

विश्लेषणका आधारमा यो सरकार टिक्दैन भनेको हुँ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको वर्तमान सरकार ८२ साल कट्दैन भनेर आफूले राजनीतिक विश्लेषण र कांग्रेस–एमाले नेताहरूसँगको संवादका आधारमा बताएको दाबी गरेका छन् ।

बिहीबार प्रेस सेन्टर रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफूले सरकारबारे टिप्पणी गर्दा सरकारमा नभएकाले प्रचण्डले कुण्ठा पोखेको भनेर एमालेले कुप्रचार गरेको गनासो गरे ।

‘यो सरकार २०८२ कट्ने आधार छैन र कट्दैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो’, प्रचण्डले भने, ‘नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार लामो समय जाने स्थिति छैन भनेको हो ।’

माओवादी केन्द्रलाई यो सरकार ढालेर अहिले सरकारमा आउने कुनै रुचि नभएको उनले दाबी गरे ।
‘हामीलाई सरकारमा जाने कुनै रुचि छैन । हाम्रो कुनै खालको हतारो पनि छैन । तर यसको अर्थ यो सरकार चलिरहोस्, नेपाली जनताले दुःख पाइरहुन् भन्ने होइन’, अध्यक्ष दाहालले भने ।

सरकार असाध्यै अपारदर्शी रहेको र दलाल तथा बिचौलियाको पहलमा बनेको भएकाले जनताले यो सरकारबाट आशासमेत गर्न नसकेको उनको भनाइ छ ।

ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको दाहालले आरोप लगाए । बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको पनि उनले उल्लेख गरे ।

कांग्रेस र एमालेका केही नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन ओलीको नेतृत्वमा सरकार बनाइएको दाहालले दाबी गरे ।