नीति तथा कार्यक्रमलाई सरकारले कर्मकाण्डी बनायो : अध्यक्ष दाहाल

नीति तथा कार्यक्रमलाई सरकारले कर्मकाण्डी बनायो : अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रम ‍औपचारिक र कर्मकाण्डी मात्रै भएएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले सरकारले नीति तथा कार्यक्रमको तयारीलाई कर्मकाण्ड बनाइएको आरोप लगाए । गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रूप दिन खोजिएको भए पनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको उनको आरोप छ ।

‘मैले यही सम्मानित संसदमा माननीय सांसदका मतलाई ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ,’ उनले भने, ‘सदनमा प्रस्तुत हुने, माननीय सांसदहरूले सुझाव दिने तर ती सुझाव नीति तथा कार्यक्रमा समेटिएर परिमार्जन भने नहुने परम्परा अन्त्य गर्नैपर्छ भनेर अध्यादेश नै जारी गरेर पनि बजेट प्रस्तुतिको तीन महिनाअगावै नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेटको नयाँ क्यालेण्डर जारी गरिएको थियो ।’

उक्त विधिबाट सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधिहरूको सुझाव समावेश गर्न पर्याप्त समय उपलब्ध हुने र माननीयका सुझाव समेटिएर यो परिमार्जन भई सोहीअनुरुप बजेटमा प्रतिविम्बित हुन सक्ने कुरामा सरकारले बेवास्ता गरेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले सरकारसँग संख्याको दम्भ र निरंकुशतावादी चिन्तन रहेको बताए । ‘सरकारसँग संख्याको दम्भ छ, जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ । त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो’, उनले भने ।