बाबुराम बुद्धि नभएका डाक्टर हुन् : दाहाल

बाबुराम बुद्धि नभएका डाक्टर हुन् : दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिएका छन् ।

पार्टीको मध्य पहाडी जागरण अभियानको क्रममा रुकुम पूर्व पुगेका दाहालसँग पत्रकारहरूले बाबुरामसँग एकताबारे प्रश्न गर्दा यस्तो टिप्पणी गरेका हुन् ।

बाबुरामले कम्युनिष्ट नाम सुन्नै नचाहेको उल्लेख गर्दै उनीसँग अब एकता नहुने बताए । उनले भने,‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने?’

२०७९ को निर्वाचनमा आफू गोरखाबाट चुनाव लड्नुअघि नै पार्टी एकता गर्ने भनिएको भएपनि बाबुरामले कम्युनिष्टको नाम नै सुन्न नचाहेकोले एकता नभएको दाहालको जिकिर छ । उनले थपे, ‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन, कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने, बाबुरामका लागि मर्ने? कम्युनिस्ट पार्टी नभन्ने, माक्र्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने?

खिइँदाखिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर ।’

उनले भट्टराई प्रतिक्रियावादीसँग मिलेको समेत आरोप लगाए । ‘अब उहाँ खिइँदै खिइँदै पुरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ । प्रतिक्रियावादीले पनि पत्याउँदैन आजकल’, प्रचण्डले कटाक्ष गरे, ‘हाँसोको पात्र भएका छन् बाबुराम । कस्तो बुद्धि नभएको डाक्टर ? सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।’

बाबुरामबारे टिप्पणी गरिरहँदा दायाँबायाँ बसेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्द किशोर पुन पासाङ हाँसिरहेको देखिन्छ ।