काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो र दरोरूपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन् ।
सोमबार माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन्।
जनयुद्ध र जनआन्दोलनबाट उपलब्धीहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उनले त्यसका विरुद्ध सशक्तरुपमा उत्रिन भनेका हुन् ।
‘प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले हामीले जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरूलाई उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन् । कहिँ न कहिँ जनयुद्धको, माओवादी आन्दोलनको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोशिस पनि भइरहेका छन्,’ उनले भने,‘यो टिमले पार्टीको लिडरसीपमा, पार्टीको आदेशमा सबैखाले प्रतिक्रियावादी र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो सावित गर्नेछ भन्ने मलाई लागेको छ ।’
संगठनलाई गतिशीत बनाउन वाईसीएलले महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा पार्टी रहेको र यसमा युवा र वाईसीएलको महत्वपूर्ण भूमिका रहने बताए ।
नयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायीत्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गरे ।
प्रचण्डले विधान संशोधन गरेर बनाइएको ७५ सदस्यीय पदाधिकारी टिमलाई आवश्यक क्षमताको केन्द्रिकरण भएको उल्लेख गरे । ‘पदाधिकारी पहिलाकोभन्दा बढी बनाइयो, तर प्रकारान्तरले क्षमताहरूको केन्द्रिकरण भयो। यसले संगठनलाई गतिशील, चुस्त र दुरुस्त बनाउन मद्दत गर्छ,’ उनले भने ।
विधान पारित गरेर भोलिपल्टै संशोधन गरिएकोप्रति आफूलाई आलोचना गरिएको बताउँदै उनले भने, ‘हुन त विधान आज एउटा पारित गर्ने, भोलिपल्ट संशोधन गर्ने के गरेको होला भनेर मलाई पनि सुनाएका थिए। तर तपाईंहरूले सहमतिमै सबै काम गर्नुभयो, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन ।’
प्रतिक्रिया