नेपाली कम्युनिस्ट पार्टी घोषणा अघि दाहाल-भुसाल भेट, झलनाथसँग पनि दाहालले गरे छलफल

नेपाली कम्युनिस्ट पार्टी घोषणा अघि दाहाल-भुसाल भेट, झलनाथसँग पनि दाहालले गरे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालसँग छलफल गरेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको औपचारिक एकता घोषणा अघि दाहाल भुसालले छलफल गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन बुधबार हुँदैछ । त्यसअघि एकतामा नै सामेल हुनको लागि दाहालले भुसालसँग छलफल गरेका हुन् ।

दाहालको निवासमा भएको छलफलमा भुसाललाई वामपन्थी एकताको प्रस्थानविन्दुको रुपमा रहेको पार्टी एकतालाई सघाउन प्रस्ताव राखेका थिए । तर, उनले पार्टी पुनर्गठनमा लाग्ने जबाफ दिएका छन् ।

छलफलमा महासचिव भुसालले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका मार्गचित्र स्पष्ट पारे सहकार्य गर्न सकिने अडान राखेका थिए ।

भुसाल समूहले पनि छुट्टै पत्रकार सम्मेलन गरेर कसरी अघि बढ्ने भनेर आफ्नो धारणा सार्वजनिक गर्दैछ ।

यसअघि माओवादीबाट अलग भएका जनार्दन शर्माले पनि एकता बहिष्कार गरेका छन् । उनले माओवादी त्याग गरेर अब प्रगतिशील अभियान नेपाल चलाउने घोषणा गरेका छन् । शर्मालाई राम कार्कीले साथ दिएका छन् ।

यसबीच नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पनि दाहालसँग छलफल गरेका छन् ।

खनालल मंगलबार राति एमाले अध्यक्ष केपी ओलीसँग पनि भेट गरेका थिए । खनालले आफूले मित्रको नाताले र पत्नी बिरामी हुँदा देखाएको सद्भावको कारण धन्यवाद दिन नेताहरूलाई भेटेको भनेका छन् ।

खनालसँगको छलफलमा दाहालले एउटै पार्टीमा सहयात्रा गरेर जानेबारे प्रस्ताव गरेका थिए । तर खनालले राजनीतिक कार्यदिशामा दाहाल स्पष्ट भएसँगै सहकार्य गर्न सकिने जवाफ दिएका थिए ।