काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा भएको प्रकरणमा छानबिनको माग गरेका छन् ।
प्रतिनिधिसभामा बिहीबार विशेष समय लिएर बोल्दै संयोजक दाहालले कप्तानजञ्जमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन आग्रह गरे ।
कप्तानगन्ज घटनामा भएको अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने उनको भनाइ थियो । कप्तानगन्ज घटनाप्रति प्रधानमन्त्री र गृहमन्त्रीले संवेदनशीलता नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनले सबैलाई सद्भाव कायम राख्ने सन्दर्भमा सरकारलाई विशेष ध्यान दिन आग्रह समेत गरे ।
संयोजक दाहालले देशको परिस्थिति सहज नभएको पनि बताए । उनले जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न नसकेको टिप्पणी गरे ।
‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आफ्नो आफ्नो मत राखेका छौं, यो राम्रो कुरा हो । गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन’, उनले भने ।
उनले दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको आशंका व्यक्त गरे । देशमा हुने राम्रो कामको मात्रै नभएर नराम्रा कामको पनि राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
दाहालले प्रधानमन्त्री बालेन शाहलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन रोकेको हो भन्दै प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्री बालेनलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन रोकेको हो ? आफ्नै अंहकारले रोकेको हो कि के हो ? अनुभव लिन कन्जुस्यायी गर्न आवश्यक छ र ? तपाईंहरु जति संवादबाट टाढा जानुहुन्छ। प्रतिपक्षलाई जति अवमूल्यन गर्नुहुन्छ त्यति राष्ट्र, जनता अफ्ठ्यारोमा पर्ने देखिन्छ।’




प्रतिक्रिया