काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसहित अनुभवी नेताहरुलाई बोलाएर सुझाव नलिएको भन्दै प्रधानन्त्री बालेन्द्र शाह (बालेन) प्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहंकार छाडेर संवादको शिलशिला थाल्न प्रधानमन्त्रीलाई सुझाव दिए । संवादका लागि प्रधानमन्त्रीलाई केले रोकेको हो भन्ने उनको प्रश्न थियो ।
लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति लड्ने क्रममा जेल, नेल र यातना भोगेका नेताहरूको ठूलो पंक्ति रहेको र उनीहरुका सुझाव मुलुक सञ्चालनमा काम लाग्ने उल्लेख गरे ।
‘प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता, बुद्धिजिवी र विज्ञहरूको विशाल पंक्ति छ । ठूलाठूला अप्ठेरा परिस्थितिलाई निकास दिने हैसियत राख्ने नेताहरूको पंक्ति छ,’ उनले भने, ‘उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला ? मलाई अनौठो लाग्छ,’ उनले भने, ‘उहाँले मलाई बोलाएर तपाईंले पनि भ्रष्टाचारका विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, के ले तपाईंलाई सफल हुन दिएन ? भनेर सोधे पनि त हुन्थ्यो । के ले रोक्यो उहाँलाई ?’
प्रचण्डले प्रधानमन्त्रीको अहंकार वा आफैं पर्याप्त रहेको घमण्डी भावनाले संवाद गर्न रोकेको हुन सक्ने टिप्पणी गरे ।




प्रतिक्रिया