१० दिनपछि जिवितै भेटिनु सन्तोषको विषय हो तर समयमै उद्धार भएको भए धेरैको ज्यान बच्ने रहेछ : प्रचण्ड

१० दिनपछि जिवितै भेटिनु सन्तोषको विषय हो तर समयमै उद्धार भएको भए धेरैको ज्यान बच्ने रहेछ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुङमा फसेका दुई नेपालीको १० दिनपछि सकुशल उद्धार भएको घटनाले राज्यको विपद् व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।

शनिबार काठमाण्डुमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले उद्धारमा ढिलाइ हुँदा थप मानवीय क्षति हुनसक्ने देखिएको भन्दै आगामी दिनमा सरकार अझ जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

उनले १० दिनपछि दुई नेपालीको सकुशल उद्धार हुनु खुसीको विषय भए पनि समयमै उद्धार हुन सकेको भए थप मानिसको ज्यान जोगाउन सकिने अवस्था रहेको टिप्पणी गरे ।

‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा रहेका दुई जना नेपालीको सकुशल उद्धार हुनु हामी सबैको निम्ति एकातिर सन्तोषको विषय भएको छ,’ प्रचण्डले भने, ‘अर्कोतिर समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको छ ।’

प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा कर्मचारीतन्त्र र सुरक्षा निकायको भूमिका अझ महत्वपूर्ण हुने उनको भनाइ थियो। कर्मचारीलाई स्थायी सरकारका रूपमा परिभाषित गरिने भएकाले संकटका बेला उनीहरूलाई थप प्रोत्साहन र जिम्मेवारीका साथ परिचालन गर्नुपर्ने उनले बताए।

तर पछिल्लो समय देशमा देखिएको अन्योल र अनिश्चितताको प्रत्यक्ष असर कर्मचारीतन्त्रमाथि परेको प्रचण्डको दाबी छ। कर्मचारीलाई त्रसित वा आतंकित बनाएर काम गराउँदा अपेक्षित परिणाम हासिल हुन नसक्ने उनले बताए।

उनले अहिले नेपाली राजनीति, कर्मचारीतन्त्र तथा राज्यका विभिन्न निकायमा अन्योलको अवस्था रहेको भन्दै यस्तो परिस्थितिबाट बाहिर निस्कन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।