सरकारविरुद्ध दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड

सरकारविरुद्ध दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वपछि सरकारविरुद्ध बृहत् आन्दोलनको तयारी भइरहेको बताएका छन्।

शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका कदमविरुद्ध विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा मजदुर–किसानलगायतका समूहलाई समेटेर संयुक्त मोर्चा निर्माण गर्ने तयारी भइरहेको बताएका हुन्।

‘नेपालमा ठूला–ठूला चाडपर्वको अगाडि छौँ। चाडपर्वका यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ। चाडपर्व पछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’

प्रचण्डले सरकारमाथि सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियन आन्दोलनमाथि दमन गरेको आरोप लगाए। यस्ता गतिविधिविरुद्ध व्यापक प्रतिवाद आवश्यक रहेको उनको भनाइ छ।

उनले विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै चाडपर्वको अवधिमै आन्दोलनको तयारीलाई अघि बढाउने बताए।

संसद्‌भित्र रहेका प्रतिपक्षी दलहरूबीच सहकार्य बढाइएको र अब संसद् बाहिर पनि सरकारविरुद्ध असन्तुष्ट विभिन्न समूहलाई समेटेर आन्दोलन अघि बढाउने तयारी भइरहेको उनले बताए।

‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ। सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ। त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’ उनले भने ।