काठमाण्डु- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘सुरक्षा थ्रेट’ का नाममा पूर्वप्रानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘सुरक्षा थ्रेट’ भए पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बताए ।
सुरक्षा थ्रेट बहानाबाजी मात्र भएको उनको भनाइ थियो ।
‘सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो, बहानाबाजी हो भन्ने लाटोले पनि बुझ्छ’, प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन पर्यो ।’
उनले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी राखिए सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।
प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ र यसको परिणाम सरकारकै लागि घातक हुने बताए ।
‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ उनले भने ।
यस्ता घटना दोहोरिन नदोहोर्याउन उनले सरकारलाई चेतावनी दिए ।
फरक प्रसंगमा प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोल्नुपर्ने विषय नै महासभामा बोलेको भन्दै उनले त्यसलाई लिएर अनावश्यक बढाइचढाइ गर्न आवश्यक नरहेको बताए ।
बालेनको ठाउँमा अरू कोही भएको भए पनि महासभामा त्यही विषय बोल्ने उनको धारणा थियो ।




प्रतिक्रिया