प्रचण्डलाई राष्ट्रपति सि जिनपिङले दिए चीन भ्रमणको निम्तो


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । उनको भ्रमण तालिका भने तय भइसकेको छैन् ।

शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको जनाउँदै केही समयमा नै आफू चीन भ्रमणमा जाने बताएका छन् ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणपछि मेरो नेतृत्वमा पहिलो टोली छिट्टै चीन जाँदैछौं’, प्रचण्डले भने, ‘त्यो भ्रमणले जनमत निर्माण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।’

प्रचण्डले नेपाल भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् । नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि सकारात्मक छलफल हुन थालेको बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने क्रममा भारतकै बाटो भएर किन आए भन्ने हेक्का राख्नुपर्ने उनले बताए ।

‘किन जानुभयो भन्ने हाम्रो कुनै गुनासो छैन’ उनले भने, ‘यसले त्रिदेशीय साझेदारीको हाम्रो सोच र रणनीतिक महत्वलाई स्थाापित गरेको छ भन्ने लाग्छ ।’

तर चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नलागेको बताए ।

‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ’ उनले अघि भने, ‘टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement