कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा : प्रचण्ड


चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए।

‘हामीले हिजो दुईवटा कार्यदल बनाएको छौं। यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउछौं ।’

नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिकरुपमा नयाँ दलका रुपमा निर्वाचन आयोगमा दर्ता गरिने उनले बताए।

सैद्धान्तिक र व्यवहारिक किसिमले हामी एकै कम्युनिष्ट पार्टी भइसकेको उल्लेख गर्दै प्रचण्डले कानुनीरुपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछि मात्रै नयाँ पार्टी हुने बताए।

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रियरुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुबै पार्टीका अध्यक्ष ‘सह–अध्यक्ष’ का रुपमा रहने बताए। बैठकको अध्यक्षता आलोपालो गरिने गरि नयाँ पार्टीमा दुबै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षर समेत रहने उनले जानकारी दिए।

पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउँदै प्रचण्डले देशमा स्थायित्व, समृद्धि र सुशासनका लागि एकताले ठूलो धरातल तयार पारेको बताए।

पार्टी एकताले नेपालमा मात्र नभएर दक्षिण एशिया र विश्वका न्यायपूर्ण तथा प्रगतिशील आन्दोलनमा समेत ठूलो सकारात्मक प्रभाव पार्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement