देशले निकास पाउने शर्तमा जुनसुकै कदम चाल्न तयार छु : प्रचण्ड


भरतपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताएका छन्।

चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताएका हुन्।

राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै अध्यक्ष प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए।

‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु,’ उनले भने, ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’

देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो’ भन्दै प्रश्न गरे।

गिरिजाप्रसाद कोइरालासँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको बताउँदै प्रचण्डले भने, ‘युद्धकालसँग जोडेर हामीलाई व्यंग गर्नेहरु पनि छन्, तर इतिहास हेर्दा सम्राट अशोक नै सबैभन्दा पहिले बुद्धको शान्तिको सन्देश विश्वभरी फैलाउने विभूति भएको बिर्सिन मिल्दैन।’

प्रतिक्रिया दिनुहोस
Advertisement