कार्यकर्तालाई प्रचण्डको निर्देशन : कास्कीबाट विद्या भट्टराईलाई चुनाव जिताउनूस्


पोखरा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै महासचिव विष्णु पौडेलसँग हल मिलेको बताएका छन् ।

शुक्रबार कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरु एक भएको पनि सन्देश दिए । नेकपाको बन्द प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पार्टी र आसन्न उपनिर्वाचनको बारेमा पनि धारणा राखेका हुन् ।

उनले भने, ‘हाम्रा महासचिव कमरेडलाई लिएर अहिले उहाँको र मेरो करिबकरिब हलगोरु जस्तै हुन थालेको छ । जहाँपनि पनि हामी हलगोरु जस्तै जान्छौँ । एउटाले भनेपछि अर्कोलाई त्यै हो, त्यै हो भन्ने लाग्छ ।’

कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । नेकपाले आधिकारिक रुपमा दिवंगत रविन्द्रपत्नी विद्या भट्टराईलाई चुनावी मैदानमा उतारेको छ ।

उपनिर्वाचन जित्ने र सरकार लोकप्रिय रहेको सन्देश दिनको लागि भए पनि चुनाव जसरी भएपनि जित्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए । ‘एक ठिक्का भएर चुनावमा लाग्न सबै कमरेडहरुलाई अपिल गर्न चाहान्छु । कास्कीबाट हामीले एउटा उदाहरण प्रस्तुत गर्नुपर्छ’, उनले भने ।

पार्टी एकताको प्रक्रियाको बारेमा बोल्दै प्रचण्डले कात्तिक २५ भित्रै एकता प्रक्रिया सबै टुंगो लगाईछाड्ने दाबी गरे । सरकारले गरेका राम्रा कामहरुको बारेमा घरघरमा टोलटोलमा व्यक्ति व्यक्तिसँग पुगेर प्रचार गर्न उनले आग्रह गरे ।

‘विकास निर्माणको बारेमा हाम्रा पार्टीले अगाडि बढाएका परियोजना, कानूनहरु, छिमेकी र विदेशीसँग गरेका सम्झौताहरु सबैभन्दा पछिल्लो मोतहारीदेखि अमलेखसम्मको पाइपलाइन विछ्याउने परियोजना सानो कुरा होइन । यसको सन्देश ठूलो छ, अर्बौ रुपैया महिनैपिच्छे बच्ने भएको छ, सरकारका कामका बारेमा जनतालाई बुझाउनुहोस,’ उनले भने ।

चीनका राष्ट्रपतिको २३ वर्षपछिको भ्रमणलाई पनि उनले सरकारका कार्यमा सामेल गरे । यस्तै, चीनबाट रेल ल्याउने विषयको उठान सबैभन्दा पहिले आफैले गरेको दाबी प्रचण्डको छ ।

‘मैले पहिलोपटक प्रधानमन्त्रीको रुपमा चीन जाँदा त्यहाँका प्रधानमन्त्री हुँ जिन्ताओलाई भनेको थिएँ, हाम्रो एउटा सपना छ, ल्हासाबाट लुम्बिनीसम्म रेल पुर्‍याउने । यही मार्ग्चित्रमा रेल जाओस भन्ने सपना छ । यो अहिले सपनाजस्तो छ । २०–३० वर्ष लाग्ला अहिले २० वर्ष नहुँदै विपना हुँदैछ । रेल केरुङ काठमाडौं, काठमाडौं देखि पोखरा र लुम्बिनी ल्याइन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement