बालुवाटारमा प्रचण्डलाई विप्लवको चेतावनी- एमसीसी कार्यान्वयनमा गए सहकार्य तोड्छु


काठमाण्डु- प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव असन्तुष्ट बनेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनलाई लिएर प्रधानमन्त्री प्रचण्डसँग विप्लव असन्तुष्ट बनेका हुन् ।

विप्लवले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा समाजवादी मोर्चा र माओवादी केन्द्रसँग सहकार्य तोड्ने चेतावनी दिएका छन् । आज विहान प्रधानमन्त्री प्रचण्डसँग एमसीसी कार्यान्वयनको बारेमा छलफल गर्न विप्लव बालुवाटार पुगेका थिए ।

बालुवाटारको छलफलमा प्रधानमन्त्री प्रचण्डसँग विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरे । तर, जवाफमा प्रधानमन्त्री प्रचण्डले एमसीसी कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ दिए ।

त्यसपछि विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नदिई कार्यान्वयनमा गएपछि समाजवादी मोर्चा र माओवादी केन्द्रसँगको सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।

विप्लवले एमसीसी कुनै पनि हालतमा कार्यान्वयनमा जान नदिने बताउँदै आएका छन् । एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयन चरणमा प्रवेश गर्दैछ। कार्यान्वयन चरणमा प्रवेशको ठिक पाँच वर्षमा परियोजना सम्पन्‍न गर्नुपर्ने सम्झौतामा उल्लेख छ

। उक्त अवधिमा काम सम्पन्‍न हुन नसकेको अवस्थामा खर्च नभएको अनुदान रकम फिर्ता गर्नुपर्ने छ। एमसीसी परियोजना कार्यान्वयनमा प्रवेश गराएको औपचारिक कार्यक्रममा सहभागी हुन एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार काठमाडौं आइपुगेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement