भोट माग्न सुकुम्बासी वस्ती पुगेका प्रचण्डले यसरी सम्झिए भूमिगत जीवन


भरतपुर– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर (३ का उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शिवनगरका लालपूर्जा विहीनहरुसँग अन्तरक्रिया गरेका छन्।

 

 

अध्यक्ष प्रचण्डले शनिबार वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीसँग अन्तरक्रिया गरेका हुन्।

 

अन्तरक्रियामा लालपूर्जा नभएका स्थानीयले आफ्ना समस्या र गुनासो अध्यक्ष प्रचण्डसँग राखेका थिए।

 

आजसम्म सुकुम्बासीलाई भोट ब्याङ्क बनाइएको भन्दै सुकुम्बासी समस्याको दीर्घकालिन समस्या खोजिदिन प्रचण्डसँग स्थानीयले आग्रह गरेका थिए।

 

अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘२०३६ सालमा आन्दोलन चल्दै थियो, मैले शिबनगरको गौचरनमा खाम्बा गाडेर सुकुम्बासी बसालेको थिएँ, तपाईहरुलाई गौचरनमा बसालेपछि प्रशासनले मेरो घरमा छापा मार्यो, अनि म भूमिगत जीवनतिर गएँ। म पनि गरिबको छोरो हुँ, यो यहाँहरुले बुझ्नुभएकै होला।’

 

उनले अगाडि थपे, ‘दश वर्षमा १० वटा सरकार बने। तर, बहुमतको सरकार बन्न सकेन। निर्वाचनपछि बहुमतको सरकार बन्छ, त्यसपछि राजनीतिक स्थिरताको वातावरण बन्छ, चितवनको रुप रङ्ग फेर्ने संकल्पसहित आएको छु।’

 

प्रचण्डले शनिबार नै भरतपुरको शिबनगरमा आयोजित कोणसभा र घरदैलोमा गरे। प्रचण्डले भने, ‘हामीले संविधान बनायौं। तर, राजनीतिक स्थिरता बनेन। यसपटक हामीले बामपन्थीको बलियो एकता बनाएर आएका छौं, यो हामी सबैको लागि खुसीको कुरा हो। अब नेपालमा राजनीतिक स्थीरता र विकासको युग आरम्भ हुन्छ। चितवन पनि अन्तर्राष्ट्रिय स्तरको नमूना शहर बनाइन्छ।’

 

 

शनिबार नै अध्यक्ष प्रचण्डले राधापुर र सुन्दरबस्तीमा घरदैलो गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement