कांग्रेसको मञ्चबाट प्रचण्ड मैले धेरै क्रमभंग गरेँ, अब गगन र रविले गरून्

कांग्रेसको मञ्चबाट प्रचण्ड मैले धेरै क्रमभंग गरेँ, अब गगन र रविले गरून्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाले अब राजनीतिक ‘क्रमभंग’ गर्दै देश निर्माणको नयाँ अध्याय थाल्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आइतबार शुभकामना मन्तव्य दिँदै प्रचण्डले आफूले राजनीतिक जीवनमा पटक–पटक क्रमभंग गर्दै युद्धलाई शान्तिमा, शान्तिलाई संविधानमा र संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको बताए ।

‘शान्तिलाई संविधानमा, संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजान मैले धेरै क्रमभंग गरेको छु,’ प्रचण्डले भने, ‘अब पालो गगनजीको हो, अब पालो रविजीको हो । रविजीले धेरै क्रमभंग गर्न बाँकी छ । अनि बन्छ नेपाल ।’

उनले गगन र रवि दुवैलाई आफ्नो साथ रहेको बताए ।

प्रचण्डले गगन थापा र रवि लामिछाने दुवैप्रति आफ्नो आत्मीयता र सम्मान रहेको बताए । दुवै आफ्नो नेतृत्वको सरकारमा मन्त्री भइसकेको स्मरण गर्दै उनले गगन थापा आफ्नो क्याबिनेटमा स्वास्थ्यमन्त्री र रवि लामिछाने गृहमन्त्री रहेको उल्लेख गरे ।

‘गगनजी र रविजी दुवैप्रति मेरो माया छ, सम्मान छ । दुवै मेरो क्याबिनेटमा मन्त्री हुनुभएको छ,’ उनले भने ।

उनले गगन थापालाई कांग्रेसको नेतृत्वमा पुगेकोमा बधाई दिँदै निरन्तरतामा क्रमभंग गरेर कांग्रेसलाई अघि बढाएको बताए ।

थापालाई उक्त अभियानमा सहयोग गर्ने कांग्रेस नेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि उनले धन्यवाद दिए ।

प्रचण्डले अबको राजनीतिक नेतृत्वले विगतको उपलब्धिलाई जोगाउँदै नयाँ परिस्थितिअनुसार देशलाई अघि बढाउनुपर्ने बताए ।

नयाँ हुनु भनेको विगतमा योगदान गरेका सबैलाई खराब देखाएर आफू मात्रै सही भएको दाबी गर्नु नभएको उनको भनाइ थियो ।

‘नयाँ भनेको एकथरीले पुराना सबै खराब र आफू मात्रै ठीक भन्ने प्रवृत्ति होइन,’ उनले भने, ‘हामीले त्यो गर्नु हुँदैन ।’

देश अहिले अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने बताए।

उनले पछिल्लो समय सरकारका गतिविधिले देश स्वेच्छाचारितातर्फ जाने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै लोकतन्त्रको रक्षा र जनताको परिवर्तनको आकांक्षा पूरा गर्न राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रचण्डले आफू विस्तृत शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता रहेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए । संक्रमणकालीन न्यायको काम टुंग्याउँदै देशलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउने जिम्मेवारी अहिलेको नेतृत्वको रहेको उनको भनाइ थियो ।

‘शान्ति प्रक्रियाका बाँकी काम सफलतापूर्वक सकेर नेपालमा शान्ति र समृद्धिको इतिहास बनाउन गगन थापा सफल हुनुहोस्,’ उनले शुभकामना दिए ।

प्रचण्डले कांग्रेसको १५औँ महाधिवेशनले नयाँ राजनीतिक सन्देश दिन सक्ने अपेक्षा व्यक्त गर्दै गगन थापाको नेतृत्वमा कांग्रेसले देश निर्माणमा प्रभावकारी भूमिका खेलोस् भन्ने शुभकामना दिए ।