बाबुरामलाई प्रचण्डको आग्रह – भुल गरेकाले पश्चाताप गरेर माओवादीमै फर्किनुस्


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भुल गरेकाले पश्चाताप गरेर माओवादीमै फर्किनुपर्ने आग्रह गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज नयाँ शक्तिका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छाडेर बाबुरामले गम्भीर गल्ती गरेको बताए ।

आफूले पटक–पटक फर्किन आग्रह गरेको भन्दै उनले भने, ‘हाम्रो त भनाइ बाबुराम जीहरू समेत यही जोडिन आइपुग्नुपर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन ।’ उनले भने, ‘धेरै ठूलो भूल गर्नुभएको छ, यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोल्यै हुन्छ । दुःख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ ।’ माओवादी र कम्युनिष्ट आन्दोलनका लागि काम गरेकाहरू एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै उनले विप्लव समूहलाई पनि पार्टीमा फर्कन आहृवान गरेका छन् ।
जनताको आर्थिक विकास र सम्वृद्धिको चाहाना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वाम गठबन्धनको पक्षमा उभिएको उनको दावी रहेको थियो । गोरखामा नयाँ शक्ति पार्टीका तर्फबाट विभिन्न भूमिकामा रहेर काम गर्दै आएका कार्यकर्ता पार्टी प्रवेश हुनुलाई पुनर्मिलनको संज्ञा दिँदै प्रचण्डले गोरखा फेरि पनि कम्युनिष्ट किल्लाकै रुपमा कायम रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement