काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको आरोप लगाएका छन् । कांग्रेस–एमालेको गठबन्धन र सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको उनले टिप्पणी गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, अब पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको छ । ’
‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भइसकेको छ’, उनले भने, ‘उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन् ।’
प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरव्याज विरोधी कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताए । ‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का, भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन’, प्रचण्डको भनाइ छ ।
उनले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको बताए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने बताए ।
‘राजनीतिक रूपमा राम्रो आधार बनेको छ अव त्यसलाई सङ्गठनमा बदल्नुपर्ने अवसर प्राप्त भएको छ’, प्रचण्डले भने, ‘अव मेरो पहल पार्टीलाई एकताबद्ध र नीति कार्यक्रम जनमुखी बनाउनेमा हुनेछ ।’
पार्टीले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको एघारौँ स्मृति दिवस मनाएको छ । संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरूले उनले कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरे ।
प्रतिक्रिया