सचिवालय वैठकमा प्रचण्डले भने– एमालेसँगको एकता निष्कर्ष तर्फ


काठमाडौ‌- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढेको बताएका छन्। माओवादी सचिवालय बैठकमा बुधबार दाहालले दुई दलबीचको छलफल सकारात्मक निष्कर्ष निक्लने विन्दुतर्फ अग्रसर भएको ब्रिफिङ गरेका हुन्।

एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रयोजनका लागि बिहीबार दुई दलका शीर्ष नेताबीच छलफल हुँदै छ। माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार दुई नेताको बैठकले निकाल्ने निष्कर्षका आधारमा एकताबारे टुंगो लाग्नेछ।

एमाले र माओवादीबीच वैशाख ९ मा एकता गर्ने भनिए पनि हिस्सेदारी विवादले रोकिएको थियो। बिहीबारको बैठक निष्कर्षतर्फ उन्मुख भए आउँदो शनिबार माक्र्स जयन्तीका अवसरमा एकताको समयसीमा घोषणा हुने सम्भावना रहेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

एकता घोषणा भव्य रूपमा गर्नुपर्ने भएकाले तयारी गर्ने समयसीमा राखेर मितिसम्म सार्वजनिक हुन सक्ने माओवादीका एक नेताले जानकारी दिए। बैठकले तथ्यांक अद्यावधिक राख्न सबै संगठनलाई निर्देशन दिएको छ।

अध्यक्ष दाहालले अहिलेसम्म नमिलेका विषयमा सकारात्मक अवस्था बनेकाले एकताका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। दुवै पक्षबीच सम्मानजनक रूपमै एकता हुने उनले जानकारी गराएका थिए। एमालेसँग माओवादीले समान हिस्सेदारी मागेको छ।

त्यसका लागि संगठनमा ५० प्रतिशत पाउनुपर्ने दाबी गरेको थियो तर विगतको सहमतिअनुसार र संगठनको आकारका आधारमा पनि ५० प्रतिशत दिन नमिल्ने अडान एमालेले लिँदै आएको छ। त्यस्तै एकतापछिको नेतृत्वलगायत विषय पनि मिलेको छैन।

एमालेले ५० प्रतिशत नै दिने र एकतापछि नेतृत्वको विषयमा अहिले नै स्पष्ट केही उल्लेख गर्ने कि नगर्ने भन्नेबारे अध्यक्ष दाहालले बैठकमा स्पष्ट खुलाएनन्। एकता सकारात्मक दिशामा रहेको भन्दै त्यसका लागि तयारीमा रहन मात्रै उनले निर्देशन दिए।

‘अध्यक्षज्यूको कुराअनुसार अब एकता प्रक्रियामा धेरै मिल्न बाँकी विषय छैनन् भन्ने छ,’ एक नेताले भने, ‘त्यसैले एकता घोषणाका लागि विगतको भन्दा अलिक मजबुत आधार बन्दै गएको देखिन्छ।’ दुई दलबीच एकता हुने भनेकाले दुवै संगठनात्मक गतिविधिमा सुस्तता आएको छ।

सरकारका कामकारबाहीमा एकता हुने–नहुने भन्ने अन्योलले असर गरिरहेको निष्कर्ष बैठकले निकालेको थियो। त्यसैले एकतालाई छिटो टुंग्याइहाल्नुपर्ने धारणा नेताहरूको छ। बिहीबार हुने बैठकबाट सकेसम्म निष्कर्षमा पुर्‍याउनेतर्फ लाग्नुपर्ने सुझाव नेताहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement