सरकारका विवादास्पद निर्णयबारे खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच छलफल


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा कर्णाली प्रदेशमा देखिएका विवादबारे छलफल भएका थिए । उनीहरुबीच कर्णाली विवाद समाधान उपाय, सरकारका पछिल्ला विवादास्पद निर्णयबारे पनि छलफल भएको स्रोतले जानकारी दियो ।

उनीहरुबीच कोरोना भाइरसको महामारीले थला परेका नागरिकको उपचारमा सरकारले गरेको लापरबाहीका विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।

अध्यक्ष प्रचण्डसँग नेता नेपालले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुराकानीको विषय पनि ब्रिफिङ गरेका थिए ।

मंगलबार साँझ नेता नेपालले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री अ‍ोलीले प्रचण्डसँग ढल्किएको विषय उठान गरेका थिए ।

प्रधानमन्त्रीले नेपालसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए पनि नेता नेपालले विधि र विधानमा हिँडे मात्र सहकार्य हुन सक्ने जवाफ दिएका थिए ।

प्रधानमन्त्रीले ‘आज भोली त अन्त जान थाल्नुभयो त’ भन्दै अध्यक्ष प्रचण्डसँग नजिकिएको प्रसंग जोडेका थिए ।

उनले नेता नेपाल आफूकहाँ आउजाउ गर्न छोडेपछि असन्तुष्टि जनाएका हुन् । नेता नेपालले अध्यक्ष प्रचण्डसँग मिलेर काउण्टर दिन थालेपछि प्रधानमन्त्रीको यस्तो भनाई बाहिर आएको छ ।

‘आज भोली त अन्तै जान थाल्नुभयो त । म सँग आउनै छोड्नुभयो’, नेता नेपाललाई प्रधानमन्त्रीले भनेका थिए, ‘मिलेर अगाडि बढौं । किन मेराविरुद्धमा लाग्नुहुन्छ ?’

उनले सरकारले जनताको हितमा काम नगरेको भन्दै प्रधानमन्त्रीलाई सिस्टममा चल्न आग्रह गरे । उनले प्रधानमन्त्रीले मन्त्रिमण्डल पुर्नगठनमा गरेको एकलौटी निर्णयदेखि कोरोना संक्रमित नागरिकको उपचारमा गरेको विवादास्पद निर्णयबारेमा आक्रोश पोखेका थिए ।

‘मिल्ने कुरामा मेरो कुनै आपत्ति छैन, मिल्नुपर्छ । तर, कुन कुरामा मिल्ने रु विधि र प्रक्रियामा मिल्ने कुरा ठिक छ । व्यक्तिवादलाई मान्य हुनेगरी मिल्ने कुरा हुँदैन । पार्टीलाई विधि र प्रक्रिया अनुसार अगाडि बढाउने कुरामा मिल्न म तयार नै छु’, नेता नेपालले जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement