प्रचण्ड–नेपाल समूहको आमसभा: राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त


काठमाण्डु – नेकपाका प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शनका कारण आज उपत्यकाको ट्राफिक व्यस्थापन अस्तव्यस्त बनेको छ ।

प्रचण्ड–नेपाल समूहले आज बिहान ११ बजे राजधानीका ५ स्थानबाट जुलुस निकाल्दैछन् । सुन्धाराबाट मुल जुलुस निस्केर भृकुटीमण्डप जाँदैछ । तर जुलुस निकाल्नुअगावै विभिन्न स्थानमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो । प्रहरीले यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ ।

ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड–नेपाल पक्षले राजधानीमा विरोध प्रदर्शन गर्न लागेको हो ।

पाँच वटा जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा निस्किँदैछन् । त्यसपछि १२ बजे सुन्धाराबाट मुख्य जुलुस निस्किने नेकपाले सार्वजनिक गरिसकेको छ ।

जुलुस निस्किन लागेपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ ।साना सवारीसाधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

भृकुटीमण्डपमा सभा हुने भएकाले त्यस आसपासको क्षेत्र प्रभावित बनिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड(नेपाल समूह आन्दोलनमा छ । सोही आन्दोलन अन्तर्गत बुधबार भृकुटीमण्डपमा अर्को आमसभा हुन लागेको हो ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् । त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

माइतीघरमा अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले नेतृत्व गरेको जुलुस निस्किँदैछ ।केशरमहलमा देव गुरुङ, भीम रावल, शक्ति बस्नेत र जमलबाट लीलामणि पोखरेलको नेतृत्वमा केन्द्रीय सदस्य र पेशागत संगठनहरूको जुलुस निस्किँदैछ ।

यी सबैको मुल जुलुस १२ बजे सुन्धाराबाट निस्किन्छ। सुन्धारा, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पद्मोदय मोडल हुँदै सो जुलुस भृकुटीमण्डपमा जाँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement