प्रचण्डले भने -केही नयाँ काम गरेर मर्न मन छ


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता छिट्टै टुंगिने बताएका छन् । युवा संघ नेपालको २९औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजत कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

जिल्लाको एकता टुंगिएकै दिन पार्टी एकता टुंगिसकेको उनले बताए । उनले काम गर्दै जाँदा केही गल्ती भएपनि त्यसलाई सच्चाउन सक्नुपर्ने बताए ।

सम्वोधनका क्रममा अध्यक्ष प्रचण्डले पटक–पटक माधव नेपालको नाम उच्चारण गर्दै नेपालको भनाईप्रति आफ्नो सहमति रहेको बताए । उनले आफूहरुभित्र जडता नरहेको भन्दै जडता रहेको भए अहिले यस्तो अवस्थामा आइनपुग्ने बताए । लेलिनले भनेजस्तै गल्ती नगर्ने मान्छे कहीँ नभेटिने भन्दै उनले गल्तीबाट सिकेर नै मान्छे महान हुने बताए ।

उनले युवा र नेताहरुको साथ पाएमा नयाँ–नयाँ काम गर्न चाहेको बताए । ‘नयाँ–नयाँ काम गरेर मर्न मन छ,’ उनले भने । उनले युवाहरुमा ‘अध्ययनको अरुची हो कि ?’ भन्ने चिन्ता लागेको भन्दै बाँकी जीवन केही नयाँ गरेर मर्ने चाहाना भएको बताए ।

उनले युवा संगठनको एकता भने ३ गते नै टुंग्याउन चाहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने र भोलि बिहान बैठक गरेर एकता टुंग्याउनेबारे छलफल गर्ने दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement