अध्यक्ष प्रचण्डले नेम्वाङलाई भनेः कमरेड तपाईले सक्नुहुन्छ मिलाउनुस् !


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्लो समय चर्किदै गएको नेकपाको विवाद समाधानबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले नेता नेम्वाङलाई पार्टीभित्रको विवाद समाधानका लागि रोल मोडलको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको पटकपटकको छलफलले पार्टीभित्रको विवाद टुंगोमा नपुगेको भन्दै नेम्वाङलाई सहमतिका लागि मुख्य भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डले नेता नेम्वाङलाई पार्टी एकता विरोधी गतिविधि रोक्न आग्रह गरेका थिए ।

‘कमरेड तपाईले नेकपाको विवाद समाधान गर्न सक्नुहुन्छ मिलाउनुस्’, अध्यक्ष प्रचण्डको भनाई उद्धृत गर्दै नेम्वाङले भने, ‘त्यसैले पार्टीमा सहमति हुने विषयमा म आशावादी छु ।’

पछिल्लो समय नेकपाभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पटकपटक वार्ता भए पनि त्यो निष्कर्षमा पुग्न सकेको छैन् ।  असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक १८ गतेबाट स्थगित  छ ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र नमिलेका विषय स्थायी कमिटी बैठकबाट समाधान गर्न आग्रह गरे पनि प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै आएका छन् । उनले सचिवालय बैठक बोलाउन प्रस्ताव गरेपनि अध्यक्ष प्रचण्ड भने बीचमा स्थगित भएको स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने अडानमा छन् ।

कोरोना भाइरसको महामारीलाई देखाउँदै अध्यक्ष ओलीले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बस्न नहुने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement