प्रचण्डको दाउ : पार्टीभित्रका असन्तुष्टलाई पेल्ने, बाहिरकालाई फकाउने

प्रचण्डको दाउ : पार्टीभित्रका असन्तुष्टलाई पेल्ने, बाहिरकालाई फकाउने


काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य पार्टीसँग एकता गर्ने ‘कार्ड’ फाल्दै पार्टीभित्र आफूसँग असन्तुष्टि राख्नेलाई पेलिरहेका छन् ।

पार्टीको स्थायी समिति बैठकमा फरक मत राखेका उपमहासचिव जनार्दन शर्मासहितका नेतालाई पार्टी एकता गर्ने नाममा भित्तैमा पुग्नेगरी पेल्ने रणनीतिमा प्रचण्ड रहेको उनको व्यवहारले देखाएको माओवादी निकट स्रोतले जानकारी दियो ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीको महेन्द्र राय यादव समूहलाई माओवादीमा एकीकरण गराउने अभियानमा छन् । माओवादीभित्रको किचलोले एकीकरणलाई केही पर धकेले पनि उनीहरूलाई ल्याएर पार्टीभित्रका असन्तुष्टहरूलाई पाखा लगाउने रणनीति उनको छ ।

यसअघि पार्टी महासचिव बन्नका लागि उपमहासचिवद्वय वर्षमान पुन र शर्माले आकांक्षा राखेका थिए । त्यसबेला प्रचण्डले उनीहरू दुवै जनालाई पञ्छाएर देवप्रसाद गुरुरूलाई महासचिव बनाएका थिए । र, दुवैजनालाई उपमहासचिवमा थन्काएका थिए ।

त्यसबेलासम्म पुन र शर्मालाई ‘फुटाउ र आफूले मस्ती गर’को रणनीति अंगालेका प्रचण्डले अहिले पुन र शर्मा नै प्रचण्डको रणनीतिविरुद्ध एक भएपछि विप्लवलाई माओवादीमा भित्र्याएर उनीहरूलाई पुनः पञ्छाउने रणनीति बनाएका छन् । एक नेताका अनुसार बाहिर पार्टी फुट्दैन, मिलाउँछु भन्ने तर भित्रभित्रै अन्य पार्टीका नेतालाई ल्याएर महत्वपूर्ण पद दिइ भित्र भएकालाई पेल्ने दाउ उनको छ ।

बाहिर भने प्रचण्डले शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा स्थायी कमिटी बैठकमा जनार्दनले राखेको फरक मतलाई पनि सम्बोधन गरेर जाने प्रतिबद्धता जनाएका थिए । जनार्दनको लिखित मत नेतृत्वलाई स्थापित गर्नैका लागि भएको दाबी गर्दै उनले भने, ‘पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौं भनेर खुलै विषय राखियो । कतिपय कमरेडहरू त झण्डै दुई घण्टा नै बोल्नुभयो । प्रभाकरजीले नेतृत्वलाई स्थापित गर्न कै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन ।’

फकाउनका लागि प्रचण्डले शनिबार बिहान शर्मालाई आफ्नो निवास खुमलटारमा बोलाएर दस्ताबेजलाई समेटेर पार्टी अगाडि बढाउने आश्वासन दिएका थिए ।

शर्मा धेरै नै असन्तुष्ट बनेको थाहा पाएपछि बोलाएर फकाउने प्रयास गरे पनि शर्माले चित्त अलि बढी नै दुखाएकाले प्रचण्डका कुरा पत्याइहाल्ने मुडमा देखिन्नन् ।

पहिला शर्माले पार्टी फुटाउने हल्ला फिँजाएका प्रचण्डले स्थायी समिति बैठकपछि आफैले ‘आशंका मैले लिए, अरूले लिए अब त्यो निराधार भएको कुरामा क्लियर भए हुन्छ,’ भनेर फकाउने प्रयास गरेका थिए ।

पार्टीभित्र जसरी हुन्छ गणितमा टिकिरहने ध्याउन्नमा रहेका प्रचण्डले शर्मा र पुन नजिकिएपछि पार्टी एकताको कार्ड फ्याँकेर बलियो बन्ने दाउमा छन् । पार्टीमा आफूमाथि प्रश्न उठेका बेला विप्लवको नेतृत्वको नेकपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकीकरण गर्न सके आफू थप बलियो हुने बुझाइ उनको छ । प्रचण्डले चाहे पनि सहजै पार्टी एकता हुने स्थिति देखिन्न । प्रचण्डले रणनीतिक हिसाबमा एकता चाहे पनि अरूले पत्याएका छैनन् ।

पार्टीभित्रै प्रचण्डबाट धोका पाएका स्वरहरू पटक–पटक सुनिएका छन् । नेकपा एसले पटक–पटक प्रचण्डबाट धोका पाएको छ । विप्लवले झन माओवादीभित्रको द्वन्द्वको स्थिति राम्रोसँग बुझेकाले त्यत्तिकै खुट्टा उचालिहाल्ने पक्षमा छैनन् । यो अवस्थाले एकीकृत समाजवादी र नेकपासँग तत्काल पार्टी एकताको सम्भावना नदेखिने माओवादीका एक नेताले बताए ।

केही दिनअघि एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले माओवादीसँग एकता हुने विषयमा अनभिज्ञता प्रकट गरेका थिए । बाहिर प्रचारमा आएजस्तो तत्काल एकताको सम्भावनाबारे पार्टीमा कुनै कुराकानी नभएको भनाइ उनको थियो ।

यता, प्रचण्डले भने एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पार्टी एकता गरेमा संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाइदिने जिम्मा आफ्नो भएको भन्दै आश्वस्त पार्ने प्रयास सार्वजनिक रूपमै गरेका थिए ।